१४ कार्तिक। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पसिना र रगतले बनेको पार्टीमा फर्कन आह्वान गरेका छन्। देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिको यात्रालाई सुदृढ बनाउन सबै नेता–कार्यकर्तालाई फेरि एउटै छातामुनि एकत्रित हुन ओलीले आह्वान गरेका हुन्।
ओलीले भनेका छन् ‘एमाले केवल एउटा राजनीतिक संगठन होइन, यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए’।
ओलीले भनेका छन् ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ’।
उनने सामाजिक संजाल फेसबुकमा भनेका छन् ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं’।
उनले भनेका छन् ‘हामी एउटै परिवार हौं —हाम्रो लक्ष्य स्पष्ट छ —समृद्ध नेपाल, सुखी नेपाली। म सबैमा आह्वान गर्न चाहन्छु -कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा —हाम्रो साझा सपना साकार पार्न ।निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं’।
नेकपा माओवादी र समाजवादी विच एकता प्रकृया अगाडी बढ्ने निर्णयसंगै ओलीले सवैलाइ आफ्नो घरमा फर्किन आग्रह गरेका हुन्। समाजवादीले केहि नेता कार्यकर्ताहरु एकताको विपक्षमा रहेका छन्। समाजवादीमा देखिएको एकता विवादका विच ओलीको आग्रहलाइ महत्वका साथ हेरीएको छ।








