२०८३ भदौ २७ , शनिबार

सम्पादकीय: “सत्यमा अडिग, न्यायमा समर्पित-हाम्रो एक वर्ष”



११ कार्तिक। आज न्यायखबर स्थापनाको एक वर्ष पुरा हुँदैछ। यो छोटो अवधिमा हामीले न्याय, कानून र विधिको शासनका सवालमा तथ्यपरक, जिम्मेवार र निष्पक्ष पत्रकारिताको बाटो रोज्यौं। हामीले समाचारलाई सनसनी होइन, सशक्तिकरणको माध्यम बनाउने प्रयास गर्यौं।

नेपालको कानूनी शासन केवल किताबका अक्षरहरूमा सीमित नहोस् भन्ने हाम्रो साझा चाहना हो। न्यायको जग त्यतिबेला बलियो हुन्छ, जब कानूनी व्यवस्था निष्पक्ष, स्वतन्त्र र सबै नागरिकका लागि समान अवसरसहित काम गर्छ। तर, पछिल्ला वर्षहरूमा देखिएका राजनीतिक हस्तक्षेप, अनुसन्धानमा ढिलासुस्ती र निर्णयमा असमानताले विधिको शासनमा प्रश्न उठाएका छन्।

न्यायखबरले यो एक वर्षको यात्रामा त्यही प्रश्नहरूलाई उजागर गर्ने र उत्तर खोज्ने साहस देखायो। अदालतदेखि प्रशासन, मानवअधिकारदेखि स्थानीय शासनसम्म पत्रकारीता मार्फत हामीले कानूनी सचेतना बढाउने अभियानलाई निरन्तरता दिएका छौं।

विधिको शासनको मूल आत्मा भनेको कसैले पनि कानूनभन्दा माथि छैन भन्ने विश्वास हो। यो सिद्धान्त कमजोर भयो भने, देशको न्याय प्रणाली र लोकतान्त्रिक आधार दुवै हल्लिन्छ। त्यसैले, न्यायखबरले आफ्नो दोस्रो वर्षमा प्रवेश गर्दै, न्याय र विधिको शासनको संस्थागत सुदृढीकरणका लागि अझ गहिरो पत्रकारिता गर्ने संकल्प लिएको छ।

न्याय, कानून र सुशासनका विषयमा उत्तरदायी पत्रकारिताको माध्यमबाट जनचेतना अभिवृद्धि गर्नु नै हाम्रो मूल उद्देश्य हो। गत एक वर्षमा हामीले कानूनी व्यवस्था, मानवअधिकार, प्रशासनिक न्याय, र संविधानिक जिम्मेवारीसम्बन्धी बहसहरूलाई केन्द्रमा राख्यौं  जसले नागरिकलाई सोच्न र प्रश्न गर्न सिकायो।

नेपालको लोकतन्त्रको सुदृढ आधार विधिको शासन हो। तर जब कानूनी निकायहरू राजनीतिक निष्ठा, व्यक्तिगत स्वार्थ वा सत्ता समीकरणको अधीनमा जान थाल्छन्, त्यतिबेला न्याय मूक हुन्छ र विधिको शासन बिथोलिन्छ। कानूनी शासन स्थापनाको अर्थ केवल न्यायालयमा फैसला हुनु मात्र होइन; नागरिकको हक, स्वतन्त्रता र समान व्यवहार सुनिश्चित हुनु पनि हो।

न्यायखबरले “कानून सबैका लागि समान हो” भन्ने विषयलाइ उठान गरेको छ र गरिरहनेछ। यही कारण, हामीले कानूनी क्षेत्रका कमजोरीहरू, निष्पक्षतामाथिका खतरा, र सुधारका सम्भावनालाई विश्लेषणात्मक ढंगले प्रस्तुत गर्दै आएका छौं। पत्रकारिता हाम्रो हातमा केवल कलम होइन, उत्तरदायित्व पनि हो।

आजको समयमा विधिको शासनको रक्षा गर्नु भनेको देशको भविष्यको रक्षा गर्नु हो। कानूनको शासन कमजोर हुँदा, सत्ताको मनोमानी बलियो हुन्छ; नागरिकको अधिकार ह्रास हुन्छ।

न्यायप्रति विश्वास जगाउने काम पत्रकारिताको नैतिक जिम्मेवारी हो। यही जिम्मेवारीलाई न्यायखबरले निरन्तर वहन गर्दै “सत्यमा अडिग, न्यायमा समर्पित” भन्ने आदर्शलाई व्यवहारमा उतार्ने वाचा गर्दछ।

प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्