१५ असोज। जेन-जी आन्दोलन पश्चात नेपालको आन्तरिक सुरक्षा क्षेत्रमा नयाँ चुनौती देखा परेको छ। आन्दोलनको क्रममा प्रहरी चौकीमा आगजनी, प्रहरीमाथि आक्रमण, हत्या, नागरिकहरुको घरमा लुटपाट र आगजनीका साथै व्यापारीक क्षेत्रमा आगजनी र चोरीका घटनामा प्रहरीले नियन्त्रण गर्न असमर्थ भयो। यस क्रममा प्रहरीलाइ आत्मसमर्पण गर्न दबाब दिने जस्ता घटनाहरू देखियो, जसले मात्र तत्कालीन परिस्थिति अस्थिर बनाएन, दीर्घकालीन रूपमा प्रहरी संगठनको मनोबल नै कमजोर पार्ने खतरा निम्त्याएको छ भने अपराधिक समुहहरुले यस्ता कार्यहरु गर्ने प्रयासहरु भविष्यमा समेत गर्नसक्ने तर्फ सजग हुन आवश्यक छ।
नेपाल प्रहरी जनताको सवैभन्दा नजिकको सुरक्षा निकाय हो। कानून पालना गराउने, समाजमा शान्ति–सुरक्षा कायम गर्ने र आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने भूमिकामा प्रहरीको योगदान महत्त्वपूर्ण छ। तर आन्दोलनपछिका घटनाहरूलाई आधार बनाएर आपराधिक समूहहरूले प्रहरीमाथि डिउटीको क्रममा दुर्व्यवाहर गर्ने, मनोवैज्ञानिक आक्रमण गर्ने प्रयास गरिरहेका संकेतहरू देखा परेका छन्, यो शान्ति सुरक्षाको दृष्टिकोणबाट ज्यादै दुखत् र चिन्ताजनक विषय हो।
यदि प्रहरी संस्थाको मनोबल कमजोर पारियो भने त्यसको सीधा असर समाजमा पर्छ। अपराध नियन्त्रण गर्ने शक्ति क्षीण हुन्छ, जनसाधारण असुरक्षित बोध गर्छन्, र अस्थिरता अझै बढ्छ। यस्तै अवस्थामा अराजक र अपराधीक समूहहरूलाई बल मिल्छ र कानूनको शासन कमजोर हुन्छ।
नेवाङ तामाङद्वारा हालै गरिएको प्रहरीमाथिको दुर्व्यवहार प्रतिनिधिमूलक उदाहरण हो, जसलाई हल्का घटनाजस्तो देखेर बेवास्ता गर्नु हुँदैन। यसरी सुरक्षाकर्मीलाई अपमानित गर्ने गतिविधिलाई निरुत्साहित नगरेसम्म यस्ता घटनाहरू दोहोरिने मात्र होइन, अझ बढ्दै जाने खतरा रहन्छ।
यस परिस्थितिमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय प्रहरीको मनोवल बढाउन र थप शसक्त गराउन रणनैतिक योजनाका साथ अगाडि बढ्न जरुरी छ। सुरक्षाकर्मीलाई थप तालिम, आधुनिक हतियार र प्रविधीयुक्त साधन–सामग्री उपलब्ध गराउने काम तत्कालै अघि बढाउनुपर्छ। साथै, प्रहरीलाई आत्मविश्वास जगाउने खालका नीतिगत कदमहरू आवश्यक छन्।
समाज, युवाहरु, जेन जी समुह र राजनीतिक नेतृत्वले पनि प्रहरीलाई दोषारोपण वा निरुत्साहित गर्ने होइन, सहयोग र सहकार्य गर्ने वातावरण निर्माण गर्नुपर्ने समय आएको छ।
आन्दोलनपछिको संवेदनशील परिस्थितिमा प्रहरीलाई कमजोर पार्ने जुनसुकै षड्यन्त्रलाई तत्कालै असफल बनाउन सरकार, समाज र प्रहरी तीनै पक्ष सजग र सक्रिय हुनुपर्ने अवस्था छ।








