३० भदौ। वीर अस्पतालमा उपचार गराइरहेका जेन-जी आन्दोलनका घाइतेहरुले बिरामी भेट्न समेत पक्षपात गरेको गुनासो गरेका छन्। शनिबार वीर अस्पतालको ट्रमा सेन्टरमा आन्दोनका विरामी भेट्न गएकी प्रधानमन्त्री सुशिला कार्कीले छाती र टाउकोमा गोली लागेर वीर अस्पतालको नयाँ भवनमा उपचार गरिरहेका घाइेतको स्वास्थ्य नबुझि फर्किएपछि घाइतेहरुले गुनासो गरेका छन्।
घाइते मध्येका अधिवक्ता हरिहर सिलवालले अन्तरिम सरकारका प्रधानमन्त्रीले ट्रमा सेन्टर र पुरानो भवनका केही घाइतेमात्र भेटेको र ठुलो संख्यामा नयाँ भवनमा रहेका विरामीको वेवास्ता गरी केवल औपचारिकता निभाएको गुनासो गरे। उनले भने “प्रधानमन्त्रीले घाइते भेट्न पनि पक्षपात गर्नुभो, उहाँ पनि वकिलबाट न्यायाधिश भइ प्रधानमन्त्री बन्नुभएको हो, विरामी भेट्दा समेत पक्षपात गर्नेले हामी पुर्णरुपमा निकोहुनेबेला सम्म उहाँको सरकारले हेर्ला भन्नेमा शंखा छ”। सिलवालको अप्रेसनपछी स्वास्थ्य अवस्थामा विस्तारै सुधार आएको बताए। उनको छातीमा गोली लागेको छ।
यसैगरी बाजुरा घर भइ ह्वाइट हाउस इन्टरनेशनल कलेजमा अध्ययन गरिरहेका घाइते साजन रोकायाले अहिलेसम्म आफ्नो अपरेसन समेत नभएको गुनासो गरे। उनको छाती, पेटमा गरी चारवटा गोली लागेको र हालसम्म गोली ननिकालीएको बताए। घाइते रोकायाले भने “म काठमाडौं पढ्न आएको, यहाँ मलाइ हेरचाह गर्ने मान्छेसम्म छैनन्, पेट र छातीमा चारवटा गोली छन्,दुखेर मर्छु जस्तो हुन्छ, अपरेशन कहिले हुने हो टुङ्गो छैन”। आन्दोलनको नेतृत्व गरेको जेन-जी समुहका व्यक्तिहरुले समेत घाइतेको वास्ता नगरेको र सरकार बनाउने काममा नै लागेको रोकायाले गुनासो छ।
स्याङ्जा घर भएका घाइते किशोर ढकालको टाउकोबाट २ वटा गोली झिकिएको र स्वास्थ्यमा सामान्य सुधार आएको बताए। उनले सकिनसकि भने “मुखमा गम्भिर चोट लागेको छ, खान बोल्न मिल्दैन, टाउकोको गोली त निकालियो, यसमा सरकारले कुनैपनि वास्ता गरेको छैन”।
उपचार गरिरहेका काँडाघारी घर भएका घाइते अच्युत कार्कीले आफ्नो घाँटीमा गोली लागेको बताए। उनले भने “यो परिवर्तनको लागी गरेको आन्दोलन हो, यसमा कुन समुहले तोडफोड र आगजनी गर्यो आफुपनि अन्यौल छु”।
वीर अस्पतालका निर्देशक प्रा.डा दिलिप शर्माले घाइतेको उपचार उच्च प्राथमिकतामा राखेर गरिरहेको बताए। निर्देशक शर्माले घाइतेहरुको अपरेशन भएको र केहीलाइ तत्काल गोली झिक्दा थप असर पर्ने भएकोले डक्टरको निगरानीमा राखी अपरेसनको तयारी भएको बताएका छन्।
घाइतेहरुको अवस्था बुझ्न नेपाल बार एशोसिएशनका पदाधिकारी वीर अस्पताल पुगेका छन्। बारका अध्यक्ष प्रा.डा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र, महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला, उपाध्यक्ष अधिवक्ता सरस्वती श्रेष्ठ, सदस्य अधिवक्ता दमनबहादुर चन्द, सदस्य अधिवक्ता शारदा गुरुङ सहित बार पदाधिकारी र कानून व्यवसायीहरुले घाइतेहरुको स्वास्थ्य अवस्था बुझी अस्पताल निर्देशकलाइ प्राथमिकतामा राखी उपचार गर्न अनुरोध गरेका छन्।
फोटोः









