२५ भदौ। जेन जी आन्दोलनको नाममा अझैपनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पति तोडफोड र लुटपाट गरिरहेकोले कडा कदम चाल्ने नेपाली सेनाले जनाएको छ।
बुधवार विज्ञप्ति जारी गर्दै नेपाली सेनाले भनेको छ ‘आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज मिति २०८२ भाद्र २५ गतेको बेलुकी ५ बजे (१७०० बजे) सम्म देशभर निरन्तर रहने र तत्पश्चात् भोलि भाद्र २६ गते बिहान ६ बजे (०६०० बजे) सम्म कर्फ्यू आदेश जारी रहने एवम् परिस्थितिको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण गरिने बेहोरा आम देशवासीलाई जानकारी गराईन्छ’।
निषेधाज्ञा तथा कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुने नेपाली सेनाले जनाएको छ। आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा सेनाले अनुरोध गरेको छ।
विज्ञप्तिमा भनिएको छ ‘आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारवाही हुनेछ ‘।
सम्पूर्ण अवकाश प्राप्त सैनिक लगायतका सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडी नलागी आधिकारिक सूचनाहरु मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न नेपाली सेनाले अनुरोध गरेको छ।
साथै, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाईराख्ने आ-आफ्नो दायित्वलाई निरन्तरता दिनुहुने कुरामा नेपाली सेना विश्वस्त छ । जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहि परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीहरुलाई सहयोग पुयाउन समेत सेनाले नागरिकहरुमा अपिल गरेको छ।








