२३ भदौ। जेन-जी पुस्ताको प्रदर्शनमा भएको दमन प्रति देशभरका कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले विरोध गरेको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला द्वारा जारी विज्ञप्तिमा जेनजी (Gen Z) पुस्ताबाट भएको प्रर्दशनको क्रममा प्रर्दशनकारीको ज्यान गएको र सयौंको संख्यामा प्रर्दशनकारी घाइते हुने गरी सुरक्षा निकायबाट बल प्रयोग भएको घटनाको भत्र्सना गरेको छ। विज्ञप्तिमा बारले भनेको छ “राज्यको कार्य नागरिकको ज्यान लिनु होइन, जोगाउनु हो”।
बारले आन्दोलनको क्रममा ज्यान गुमाउने प्रर्दशनकारीको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै पत्रकार लगायत सम्पूर्ण घाइते प्रदर्शनकारीको शीघ्रातीशीघ्र निःशुल्क उपचारको प्रबन्ध होस् भनी नेपाल सरकारसमक्ष माग गरेको छ।
साथै सरकारले सामाजिक सञ्जाल निर्देशिका, २०८० अन्तरगत दर्ता नभएको सामाजिक सञ्जाल निष्कृय बनाएको विषयमा पनि नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रचलित कानूनको अधिनमा रही सामाजिक सञ्जाल नियमन हुने कुरामा दुइमत हुन सक्दैन तर नेपाल सरकारले यस विषयमा समाधानमुखी उपाय अवलम्बन गरी सामाजिक सञ्जालको नियमन आवश्यक भएको बारको ठहर छ।
नियन्त्रणले समस्या समाधान नहुने हुँदा नेपाल सरकार र सेवा प्रदायक दुवै संवेदनशील भई यस विषयको सकारात्मक समाधान र सञ्जाल प्रयोगको उचित व्यवस्थापनको लागि बारले अनुरोध गरेको छ। बारले जनताको जीउज्यानको संरक्षणलाई ब्यवहारतः प्रत्याभूत गर्न नेपाल सरकार समक्ष माग गर्दै विज्ञप्ति जारी गरको छ।








