२०८३ जेठ २१ , बिहीबार

नेपाल मानवअधिकारको रक्षामा प्रतिबद्ध रहेको परराष्ट्रमन्त्री राणाको भनाइ



फागुन १२। परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताइन् ।संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले सीमित स्रोत साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपाल विश्वकै अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदै आएको बताएकी हुन् ।

‘नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारहरूलाई मौलिक अधिकारका रुपमा समेटेको छ । नेपाल सरकार लोकतान्त्रिक मूल्य मान्यता, कानूनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रही आएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

नेपालमा हाल लोकतन्त्र र मानवअधिकारका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएका राजनीतिक दलहरुको सरकार रहेकाले पनि नेपाल सरकार प्रजातन्त्र र मानवअधिकारको रक्षा तथा प्रवर्द्धनप्रति थप प्रतिबद्ध रहेको उनले बताइन् ।

नेपालले दशवर्षे सशस्त्र द्वन्द्वको समाधानका लागि अपनाएको शान्ति प्रक्रियाको मोडल विश्वमै उदाहरणीय रहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई छिट्टै टुङ्ग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन् ।

साथै राणाले नेपाल प्रेस स्वतन्त्रताको सुनिश्चितताको पक्षमा सधै रहेको बताइन् ।

प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार
प्रतिक्रिया दिनुहोस्