८ पुस, काठमाडौं। महान्यायाधिवक्ताको कार्यालयको ७४औं स्थापना दिवस मनाइएको छ।
२००८ साल, आजकै दिन कालिप्रसाद उपाध्यायलाई नेपालको पहिलो महान्यायाधिवक्ता नियुक्त गरिएपछि सरकारी वकिलको विधिवत् शुभारम्भ भएको थियो। हरेक वर्ष पुस ८ लाइ स्थापना दिवस मनाउने गरिन्छ।
सोमबार आयोजित कार्यक्रमको समुद्घाटन सम्माननीय प्रधानन्यायाधीश प्रकाश सिंह राउत बाट भएको छ। प्रधानन्यायाधीश राउतले सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्डका रूपमा रहेको बताएका छन् । प्रधानन्यायाधीशले फौजदारी न्याय प्रशासन प्रभावकारी बनाउन सरकारी वकिलको क्षमता र व्यावसायिकता बढाउन जरूरी रहेको बताए।
प्रधानन्यायाधीश राउतले भने, “महान्यायाधिवक्ताको कार्यालयबाट सोही उद्देश्य र भावनाअनुरूप सरकारी वकिल कार्यालयको संस्थागत सुदृढीकरण र सरकारी वकिलको व्यावसायिक क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण प्रयास हुँदै आएको मैले जानकारी पाएको छु । फौजदारी न्याय प्रणालीको प्रभावकारिता र विश्वसनीयताका लागि त्यसमा आबद्ध संस्था वा निकायको सक्षमता, निष्पक्षता, व्यावसायिकता र जवाफदेहिता अपरिहार्य छ ।”
कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्याय प्रणालीलाइ सुदृढ गर्ने तर्फ केन्द्रित रहेको जानकारी गराए। कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा सर्वोत्कृष्ट वर्ष सरकारी वकील २०८१ बाट सहन्यायाधिवक्ता सूर्यराज दाहाल र उत्कृष्ट सरकारी वकीलका रूपमा विभिन्न सरकारी वकिल कार्यालयका दश जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यसैगरी पूर्वमहान्यायाधिवक्ता डा.दिनमणि पोखरेल, पूर्वनायब महान्यायाधिवक्ता द्वय पदमप्रसाद पाण्डे र विश्वराज कोइरालालाई समेत सम्मान गरिएको थियो ।








