
८ पुस, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्वित भएको छ । कास्की जिल्ला अदालतमा लामिछाने विरुद्द सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्वनमा परेको सूचना प्रकाशित गरेको हो ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले लामिछानेको सासंद पद निलम्वनमा परेको सूचना प्रकाशित गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्की (अपराध अनुसन्धान तथा कारबाही शाखा) ले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरी लामिछानेविरुद्ध अभियोगपत्र दर्ता गरेको व्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका गराएको संसद्का महासचिव पाण्डेयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कार्यवाहक सभापतिमा अर्यालः
सभापति रवि लामिछानेको सांसद पद निलम्वनमा परे संगै रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।









