२४ बैशाख, काठमाडौं। संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशका लागि मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीशको नियुक्तिमा पुरानो परम्परालाइ तोड्दै शर्मालाई परिषद्ले सिफारिस गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बिहीबार (वैशाख २४) बसेको बैठकले सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
बैठकमा प्रधानमन्त्री शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुविकुमारी, प्रमुख विपक्षी नेता भीष्मराज आङदेम्बे र कानुनमन्त्री सोविता गौतम सहभागी थिए ।
सर्वोच्चको वरियताक्रम भन्दा बाहिर गएर गरिएको सिफारिस प्रति राष्ट्रिय सभा अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गरेका छन्। न्याय परिषद्ले गत फागुनमै योग्यता पुगेका ६ न्यायाधीशको नाम संवैधानिक परिषदको सचिवालयमा सिफारिस गरेको थियो।
प्रकाशमानसिंह राउत गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको भूमिकामा छिन्।
परिषद्ले सपना प्रधान मल्लको नाम सिफारिस गर्ने अनुमान गरिएको थियो।






