२०८३ साउन १३ , बुधबार

निर्वाचन चिह्नको भौतिक स्वरुप प्रयोग नगर्न आयोगको निर्देशन



११ फागुन काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्दा चुनाव चिह्नको भौतिक स्वरुप प्रयोग नगर्न अनुरोध दिएको छ।

आयोगले आइतबार (फागुन १०) विज्ञप्ति जारी गर्दै राजनीतिक दल वा उमेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डबमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न सक्ने जनाएको छ ।

आयोगले कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेको भौतिक स्वरुपका निर्वाचन चिह्न लिई प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढेको भन्ने उजुरी आएको जनाएको छ ।

आयोगले भनेको छ “प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा ४३ को उपदफा (१) मा ‘निर्वाचनका लागि दललाई प्रदान गरिने निर्वाचन चिह्न अनुसूची (३) बमोजिम र स्वतन्त्र उमेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न अनुसूची (३) बमोजिम हुनेछ,’ भन्ने व्यवस्था रहेको छ,” आयोगको विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१(१) मा निर्वाचनका लागि दल र उमेदवारलाई वितरण गर्ने निर्वाचन चिह्न आयोगले निर्धारण गर्ने व्यवस्था रहेको छ।

“प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरुपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिएबमोजिमको मापदण्डबमोजिम दलको झन्डा र चुनाव चिह्नको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ,” आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

केही दलहरुले आफ्नो निर्वाचन चिन्हलाइ भौतिक रुपमा प्रयोग गरेको पाइएपछि आयोगको यस्तो निर्दैशन दिएको हो।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार
प्रतिक्रिया दिनुहोस्