९ फागुन। रौतहटमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार (फागुन ९) दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु जारी भएको हो। प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेशसागर भुसालले कर्फ्यु आदेश जारी गरेका हुन्।
गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका निम्ति कर्फ्यु लगाइएको छ । दुई समुदायबीच तनाव बढेपछि कर्फ्यु आदेश जारी गरिएको हो । उच्छृंखल गतिविधिमा संलग्न आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरिएको सीडीओ भुसालले जानकारी दिए।
“जिल्ला सुरक्षा समिति रौतहटको निर्णयानुसार मिति २०८२ साल फागुन ९ गते दिउँसो १ (एक) बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाका देहायका क्षेत्रहरूमा कुनै व्यक्ति आवतजावत गर्न, किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क. बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ,” आदेशमा उल्लेख छ । आदेशको उल्लंघन गर्नेलाई कारबाही गरिने जनाइएको छ ।
दुई समुदायबीच झडपका कारण तनावग्रस्त बनेको गौरमा केही व्यक्ति घाइते भएका छन्। यसैगरी सवारीसाधनमा आगजनी समेत गरिएको छ।








