१७ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा नलिञ्चोकमा निर्माण भएको हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित ६ जना विरुद्द सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।
प्रदीप अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरण आर्थिक प्रशासन सम्वन्धी नियमावली, २०५७ को नियम ३ को उपनियम (१) बमोजिम आफूले प्राप्त गरेको अधिकारको दुरुपयोग गरी गराई संचालक समितिमा प्रस्ताव पेश गरी गराई बदनियत पूर्ण कार्यको विषयमा संचालक समितिलाई जानकारी नदिई आवश्यक पर्ने बजेट स्वीकृत गरे गराएको देखिएको आयोगको आरोप छ।
आयोगले अधिकारी सहित, प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उप प्रवन्धक हाल प्रबन्धक नल विक्रम थापा, तत्कालीन बरिष्ठ अधिकृत तथा हाल उप-प्रवन्धक सम्वृद्धि श्रेष्ठ र परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ्ग प्रा.लि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाइ जनही रु तेह्र करोड, सन्ताउन्न लाख, छयालिस हजार दुइ सय तेह्र रुपैया सतहत्तर पैसा बरावरको विगो दावी गरेको छ।
प्रतिवादी उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम दश वर्षदेखि चौध वर्षसम्म कैद सजाय मागदावी गरेको छ। साथै दफा १७ बमोजिम विगो असुल उपरको मागदावी लिईएको छ।








