२६ भदौ। कर्फ्यू / निषेधाज्ञा हटी आवतजावतको अवस्था सहज भई सम्बन्धित अदालतको कामकारवाही सुचारु भएको मितिले बाटोको म्यादबाहेक तीस दिनभित्र अदालतमा उपस्थित भइ म्याद तारेख थाम्न सकिने सर्वोच्च अदालतले जनाएको छ।
अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलले विज्ञप्ति जारी गर्दै बिहीबार अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको जानकारी दिएका छन्। यसैगरी पूर्ण बैठकले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सोको सुनुवाईको कार्य मिति २०८२।०५।२९ गते आइतबारबाट शुरु हुने र अन्य मुद्दाका कामकारवाही सुचारु गर्ने समेत निर्णय गरेको मुख्यरजिष्ट्रार पौडेलले बताए।
सूचनामा अदालतको कामकारवाही सुचारु भएपश्चात उल्लिखित परिस्थितिले अदालतमा उपस्थित नसकी म्याद, तारिख गुज्रन गएको कारण जनाई थामी पाउँ भनी निवेदन लिई अदालतमा उपस्थित भएमा म्याद थामिने भएको हो।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५९ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ बमोजिम गुज्रिएको म्याद, तारिख थाम्न थमाउन सकिने एवम् उल्लिखित अवधिमा मुद्दा गर्ने हदम्याद गुज्रिएको हकमा यस अदालतको बृहत पूर्ण इजलासबाट ०७६-RE-०३९२ समेतको मुद्दामा मिति २०७७।०२।१५ मा भएको आदेशसमेत बमोजिम उल्लिखित कर्फ्यू/निषेधाज्ञा हटी आवतजावतको अवस्था सहज भई सम्बन्धित अदालतको कामकारवाही सुचारु भएको मितिले बाटोको म्यादबाहेक तीस दिनभित्र अदालतमा उपस्थित हुन सकिने सर्वोच्च अदालतले जनाएको छ।









