२०८२ माघ १७ , शनिबार

लेखा अधिकृतलाई छ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर



२५ असार, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत झलक शर्मा पौडेललाई छ करोड भन्दा धेरै गैरकानूनी सम्पति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) पौडेलले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान भइ दोषी देखिएकोले मुद्दा दायर गरेको आयोगले विज्ञप्तिमा जनाएको छ।

पौडेल शुरू नियुक्ति भएको मिति २०५४।१०।०८ गतेदेखि मिति २०८०।०८।१० गतेसम्मको जाँच अवधिमा निजले प्राप्त गरेको पारिश्रमिक/तलब बचत वापतको रकम लगायत कुल तीन करोड उन्चालिस लाख सतासी हजार चार सय नब्बे रुपैया पैसठ्ठी पैसा आर्जन गरेको तर खर्च र लगानीमा नौ करोड छैसठ्ठी लाख असी हजार छ सय बीस रूपैया सड्चालीस पैसा देखिएकोले छ करोड छब्बीस लाख त्रियानब्बे हजार एक सय उनान्तीस रूपैया बयासी पैसा बराबरको खर्च तथा लगानी को स्रोत पुष्टि नभएको अख्तियारको दाबी छ।

पौडेलले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति पत्नी हुमा कुमारी उपाध्यायको नाममा समेत राखेको देखिएको हुँदा निजलाइ समेत प्रतिवादी कायम गरिएको आयोगले विज्ञप्तिमा जनाएको छ।

 

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्