२२ जेठ, काठमाडौं। प्रतिनिधीसभाका सदस्य तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। मुद्दा दायर भएसंगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।
पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको भन्नेसमेत व्यहोराको उजुरीमा अख्तियार अनुसन्धान आयोग बाट अनुसन्धान भएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुद्दा दायर भएसंगै मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन हुने कानूनी व्यवस्था रहेको छ।
स्वतः निलम्बन हुने: “कुनै राष्ट्रसेवक दफा २८ को उपदफा (१) को खण्ड (ग), दफा ३० को उपदफा (३) तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ।”
के छ निलम्बन सम्वन्धी कानूनी व्यवस्थाः
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को उपदफा १ मा “स्वतः निलम्बन हुने : (१) कुनै राष्ट्रसेवक दफा २८ को उपदफा (१) को खण्ड (ग), दफा ३० को उपदफा (३) तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ।”
ऐनको दफा ३६ मा के छ?
“मुद्दा दायर गर्ने : यस ऐन अन्तर्गतको कसुरको आरोपको सम्बन्धमा कुनै व्यक्ति उपर भएको अनुसन्धान र तहकिकातबाट निजले सो कसुर गरेको हो भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा अनुसन्धान अधिकारीले भ्रष्टाचार सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न प्रचलित कानूनबमोजिम अधिकार प्राप्त मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ।”








