२०८२ माघ १७ , शनिबार

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सहित ५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर



जेठ ५, काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित ५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल सहित सोही कार्यालयका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत  निम बहादुर वली, म्याक्स इन्टरनेशनल प्रा.लि., पुतलिसडक, काठमाडौँ र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सि.इ.ओ.) अकवर हुसेन विरुद्द मुद्दा दायर भएको प्रवक्ता राजेन्द्र कुमार पौडेल जानकारी दिए।

आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिद सन्देहपूर्ण रहेको, खरिद गरिएका मुख्य उपकरणहरुको प्राविधिक विवरणहरु अनलाईनमा प्राप्त विवरणहरु (Datasheet) सँग मिल्न गएकोमा यसरी खरिद गरिएका मुख्य उपकरणहरुको मूल्य अनलाईन श्रोतमा प्राप्त हालको मूल्यसूची भन्दा बढी भएको पाइएको भन्ने व्यहोराको उजुरीका आधारमा मुद्दा चलाइएको प्रवक्ता पौडेलले बताए।

प्रतिवादी उपर नेपाल सरकार र सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनियतले रु. पाँच करोड उनान्नअसी लाख  हानी नोक्सानी पुर्याएको भनी मुद्दा दायर भएको छ।

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्