२०८३ साउन १५ , शुक्रबार

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश



जेठ २, काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रवार मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो।

आदेशमा भनिएको छ “हालसम्मको अनुसन्धान तहकिकातको अवस्थालाई हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण संकलनको कार्य सम्पन्न भइसकेको देखिएको, थप प्रमाण संकलन गर्नुपर्ने भए सो बमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको तर, निजलाई हिरासतमै राख्नुपर्ने सम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी निजका कानून व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गरी दिनु भनी विपक्षीहरुका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ”।

त्यसअघि बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नको कारण देखाउ र बन्दी उपस्थित गराउने आदेश गरेको थियो । उनलाइ गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मिश्र पत्नी सारिका कार्कीले वैशाख ३० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन् ।

प्रकाशित मिति : २०८२ जेठ २ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्