२०८३ वैशाख २ , बुधबार

डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित, को हुन् अर्याल?



२२ चैत्र, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे। अर्याललाई सभामुखमा रास्वपा सभापति एवम् प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए ।

सभापती बनाइयोस् भन्ने लामिछानेको प्रस्तावमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए।

काठमाडौँ–९ बाट प्रत्यक्ष निर्वाचित अर्याल रास्वपाका उपसभापति हुन्।

को हुन् सभापती अर्याल?

सांसद अर्याल फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–९ बाट निर्वाचित भएका थिए । अर्याल ३५ हजार ९३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी नानीमैया बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गरेकी थिइन्।

२०३२ सालमा धादिङको ज्वालामुखी गाउँपालिका (साबिक मैदी गाविस) मा सामान्य  किसान परिवारमा जन्मिएका अर्याल  २०५३ सालमा वैदेशिक रोजगारीका लागि उनी जापान पुगे। उनि विभिन्न सहकारी र कन्सल्टेन्सीमा आवद्ध रहि काम गरे।

२०७९ साल असारमा लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा भएको थियो । रवि नेतृत्वको पार्टीमा अर्याल उपसभापति भए । पार्टी स्थापना गरेको पाँच महिनामै देशमा आम निर्वाचन भएसँगै उनी समानुपातिक सूचीबाट पहिलो पटक प्रतिनिधिसभा सदस्य बनेका थिए।

अर्याल २०७९ साल माघ २ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने ।

सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा रवि २०८१ साल कात्तिक २ गते पक्राउ परे। रविलाइ कास्की जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल गएपछि पार्टीको जिम्मेवारी सम्हाल्ने जिम्मेवारी अर्यालकै काँधमा आएको थियो।

हाल बन्ने सरकारमा गृहमन्त्रीको रुपमा चर्चामा रहेका उनि रास्वपाबाट सभामुखका उम्मेदवारका रुपमा प्रस्तुत भएका थिए। सभामुख अन्य उम्मेदवारी नपरेपछी उनी निर्विरोध निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार
प्रतिक्रिया दिनुहोस्