१३ चैत्र, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाइ पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता शाहलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरु उपस्थित थिए।
समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीहरुको उपस्थित थियो।
प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए।
रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो।
को को बने मन्त्री ?
प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय समेत आफैले सम्हाले भएका छन् । यसैगरी मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । शिशिर खनालले परराष्ट्र मन्त्रालय, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् ।
खड्कराज पौडेल (गनेश) ले पर्यटन मन्त्रालयको जिमेवारी पाउदा, सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन्।
शाहको मन्त्रीमण्डलमा प्रतिभा रावलले सामान्य प्रशासन मन्त्रीको, दीपक साह (महोत्तरी)ले श्रम रोजगार मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् भने गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बनेका छन्।








