काठमाडौं। प्रधान न्यायाधीश तथा न्यायधीशहरुको नाम विचौलियासंग जोडिएको विषय सार्वजनिक भएपछि विभिन्न पाँच निर्णय गरी सर्वोच्च अदालतको पूर्ण बैठक सकिएको छ।
बैठकले विभिन्न छापा तथा अनलाइन समाचार एवम् सामाजिक संजालमा प्रकाशित तथा प्रसारित समाचार प्रति पूर्ण बैठकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैठकको निर्णयमा भनिएको छ ‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्दता हो। यसमा हामी अडिग र स्पष्ट छौ। संविधानको सर्वोच्चता र कानूनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं’।
पूर्ण बैठकले सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा विना पूर्वाग्रह, निप्पक्ष एवम स्वतन्त्र ढंगवाट संविधान र कानून बमोजिम छानवीन गरी सत्य, तथ्य सहितको निश्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ।
साथै सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानून बमोजिम हुने छानबीन र अनुसन्धानमा कानून बमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहीता एवम् सहयोग गर्ने कुरामा अदालत प्रतिवद्ध रहेको जनाएको छ।
न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकोले यस संस्थासँग सम्वन्धित समाचारहरु प्रकाशन गर्दा यसले आम जनता एवम सेवाग्राहीहरुमा भ्रम र नकरात्मक असर नपरोस भनी छानवीनको निष्कर्ष प्राप्त नहुदै कसैलाइ लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनैपनि समाचार प्रकाशन तथा प्रसारण नगर्न सवैलाइ पूर्ण बैठकले सवैलाइ अनुरोध गरिएको प्रवक्ता डा. अशोक कुमार क्षेत्रीद्वारा विज्ञप्तिमा उल्लेख छ।









