
काठमाडौं । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । आज बसेको स्थायी कमिटीको बैठकको शुरुमै बरिष्ठ नेताको रुपमा विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरुको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका तहको अधिवेशन आगामी पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिएको छ । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरुको सहभागिता रहने भएको छ ।
पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने एमालेले जनाएको छ ।
बैठकले मधेश प्रदेश सभामा समानुपातिकतर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने जैनब खातुनको निधन भएको हुँदा उक्त रिक्त स्थानमा मापदण्ड अनुरुप क्रम सङ्ख्या ४२ तथा बन्दसूचीको क्रम ४० मा रहनुभएकी समानुपातिक सूचीकी उम्मेदवार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ।
बैठकले अध्यक्ष पद रिक्त रहेका पार्टीका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रुपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ ।
बैठक भोलि पुनः बस्ने छ ।








