२०८३ भदौ ३० , मंगलबार

भट्टलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश



२१ बैशाख, काठमाडौं। थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन अदालतले आदेश गरेको छ।

सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार (वैशाख २१) ललितपुर प्रहरी र सम्पत्ति शुद्धीकरण विभागका नाममा उक्त आदेश दिएको हो।

भट्टलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी सीआईबीको हिरासतमा राखिएको थियो। भट्टको रिहाइको माग गर्दै उनकी पत्नी आयुष्मा नेपालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन्।

सो रिटमा सुनुवाइ गर्दै अदालतले वन्दीसँगै पक्राउको कारणसहित लिखित जवाफ र अनुसन्धान भइरहेको मिसिल फाइल समेत पेस गर्न भनिएको छ।

शंकास्पद कारोबारमार्फत ‘अकुत’ सम्पत्ति आर्जनको आरोपमा व्यवसायी भट्टलाई गत चैत १९ गते काठमाडौ‍ंको नक्सालबाट पक्राउ गरिएको थियो।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट थुना म्यादको अनुमति लिएर भट्टलाई सीआईबीको प्रहरी हिरासतमा राखिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ । उनको राहदानी समेत कालोसूचीमा राखिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख २१ गते सोमबार
प्रतिक्रिया दिनुहोस्