२०८३ भदौ २९ , सोमबार

थापाथली सुकुमवासी बस्तीको सामान सार्न सघाउँदै प्रहरी



१२ बैशाख, काठमाडौं। बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्तीमा डोजर चलेको छ। सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर प्रवेश गरेको हो।

डोजरले संरचना हटाएपछि नागरिकहरुको सामान सार्न प्रहरीले सहयोग गरिरहेको छ। बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

प्रधानमन्त्रीको सचिवालयले सुकुम्वासी वस्तीहरू हटाउने क्रममा ‘साइट’मै सुकुम्बासीको व्यवस्थापन र राहत उपलब्ध गरिने जनाएको छ ।

शनिबार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै तत्कालको खानाको व्यवस्थापन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थानान्तरण हुनेहरूका लागि शनिबार र आइतबार सरकारले नै प्याकेटमा खानाको प्रबन्ध गर्ने जनाइएको छ ।

“पुनःस्थापनाका लागि छानिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार
प्रतिक्रिया दिनुहोस्