२६ चैत्र। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिहा भए लगतै सवैलाइ धन्यवाद दिएका छन्।
सामाजिक संजाल फेसवुक मार्फत ओलीले भनेका छन् ” सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु”।
ओलीले रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गरेका छन्।
ओलीले परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
ओलीले प्रहरी नियन्त्रणमा रहँदा आफुप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति समेत आभार व्यक्त गरेका छन्।
साथै रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको उपचार खर्च राज्यले बेहोर्नु पर्ने माग गरेका छन्। यदी उपचारमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन्।
ओली आज रिहा भएपनि प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने समेत जानकारी गराएका छन्।








