२६ चैत्र, काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज (बिहीबार) हाजिरी जमानीमा रिहा गरेको छ। सर्वोच्च अदालतको आदेश बमोजिम उनिहरुलाइ हाजिरी जमानीमा छोडिएको हो।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक परेका बेला हाजिर हुने सर्तमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई उनीहरूका श्रीमती क्रमश: राधिका शाक्य र यशोदा जोशी लेखकको जिम्मामा छाडिएको हो।
भट्टराईले भने, ‘अनुसन्धानका क्रममा खोजेका बखत हाजिर हुने गरी दुवैजनालाई जिम्मा जमानीमा रिहा गरिएको छ।’
सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि उनीहरूलाई रिहा गरिएको हो।
गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १४ गते शनिबार पक्राउ गरेको थियो।








