२०८३ भदौ २८ , आइतबार

ओली लेखक गिरफ्तारीमा देउवा-गगन पक्षको फरक-फरक धारणा



१४ चैत्र, काठमाडौं। नेपाली कांग्रेसको देउवा र गगन समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणमा फरक फरक धारणा सार्वजनिक गरेको छ।

देउवा पक्षले संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

देउवा पक्षीय शीर्ष नेताहरूको बैठकले नेकपा एमालेका अध्यक्ष ओली र पार्टीका नेता लेखकमाथि सरकारले गरेको राजनीतिक प्रतिशोधको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।

ठमेलको रमादा होटलमा शनिबार बसेको बैठकपछि कार्यवाहक सभापतिको हैसियतमै विज्ञप्ति जारी गरेर पूर्णबहादुर खड्काले आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्तालाई तयार रहन अपिलसमेत गरेका छन्।

यस्तै गगन पक्षले भदौ २३ र २४ गते भएको दमनबारे जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चयनमुखी भएको निष्कर्ष निकालेको छ।

प्रवक्ता देवराज चालिसेद्वारा हस्ताक्षरित विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीबारे औपचारिक धारणा सार्वजनिक गरेको हो।

कांग्रेसले सरकार निष्पक्ष न्याय निरूपणतर्फ लाग्नुपर्नेमा घटनाको राजनीतिकरणतर्फ लागेको धारणा व्यक्त गरेको हो। प्रवक्ता देवराज चालिसेबाट जारी वक्तव्यमा भनिएको छ,”एकै घटनाका दोषीमाथि चयनमुखी व्यवहारले कानुनका स्थापित विधिको पालना हुँदैन। यसले न्याय पाउने प्रक्रियालाई गिजोल्ने देखिन्छ । सरकारले निष्पक्ष छानबिन गरी न्याय निरूपण गर्नुभन्दा घटनामा थप राजनीतिक गर्न खोजेको देखिन्छ ।”

भदौ २३ र २४ दुवै घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रह रहित ढङ्गले छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्नेमा काँग्रेस दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘यसमा सरकार स्वयं संयमित  र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानुनी शासन कमजोर हुनसक्छ । देश पुनश्च द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्