२ माघ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधानविपरीत अन्यथा निर्णय गरे देशैभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
खड्काले केन्द्रदेखि वडासम्म चार तारे झण्डा र रूख अंकित झण्डासहित आन्दोलन गरिने बताएका हुन्। कांग्रेस केन्द्रिय पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएका हुन्। पत्रकार सम्मेलनमा अन्य नेताहरु समेत उपस्थित थिए।
पत्रकार सम्मेलनमा खड्का भने ‘हामी निर्वाचन आयोगलाई भन्न चाहन्छौं- नेपाली कांग्रेसको विधान, मुलुकको संविधान, निर्वाचन ऐनअनुसार यदि तलमाथि भएर निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि मडारिएको कालो बादललाई साथ दिँदै यदि निर्वाचन आयोगले नेपाली कांग्रेसको विधानविपरीत अन्यथा निर्णय गर्यो भने नेपाली कांग्रेसले देशभरि आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुने छैन। हामी वडादेखि राजधानीमा चारतारे झन्डा र रूख लिएर अघि बढ्छौं’।
खड्काले पार्टीलाई क्षति पुर्याउने समुहले विशेष महाधिवेशन आयोजना गरेको आरोप लगाए।
उनले भने ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने तर बोलाउन सक्ने व्यवस्था छैन, केन्द्रीय समितिले मात्र विशेष महाधिवेशन र कार्यविधि बनाउन सक्छ,’ उनले भने, ‘विशेष महाधिवेशन माग गर्नेहरूले नियमित महाधिवेशन विकल्पमा राखेकोले हामी नियमित महाधिवेशतर्फ अघि बढेको अवस्थामा विशेष महाधिवेशनको औचित्य थिएन।’
तत्कालिन महामन्त्रीहरुले ‘अवैधानिक भेला’ गरी त्यसलाई विशेष महाधिवेशनको नाम दिएको खड्काको भनाइ छ।








