२०८३ भदौ ३० , मंगलबार

आयोगको कार्यक्षेत्रभित्र नपर्ने भन्दै ओली-लेखक विरुद्दको जाहेरी प्रहरीमा फिर्ता



२३ असोज। जेन-जी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमा फिर्ता गरेको छ।

मृतक रसिक खतिवडाको बुबा पुरुषोत्तम खतिवडा समेत ४ जनाको जाहेरीलाइ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले मिति असोज २१ गते पत्रसाथ आयोगमा पठाएको थियो। आयोगले अनुसन्धानको कार्यक्षेत्र नभएको भनि बिहीवार निर्णय गरेको थियो।

आयोगका प्रवक्ता तथा सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘नेपाल सरकारले यस आयोगको अधिकार क्षेत्र र जिम्मेवारीहरुका सम्बन्धमा भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुका कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने, भौतिक एवं मानवीय क्षतिसंग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारवाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेश यस आयोगले पाएको छ’।

प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन् ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसूरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्र भित्र परेको छैन’।

परिसरले आयोगको क्षेत्राधिकार पर्ने भनि पठाइएको जाहेरी आयोगले समेत आफ्नो क्षेत्राधिकार नपर्ने जनाएको छ।

 

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्