२०८३ भदौ २८ , आइतबार

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चद्वारा सदर



१९ असार, काठमाडौं। ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सर्वोच्च अदालत द्वारा सदर भएको छ। बुधवार तोकिएको पेशीमा निर्णय सुनाउदै सो नियुक्ति बहुमतले सदरको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र मनोज शर्माले नियुक्ति सदर हुने आदेश गरेका हुन् । यसैगरी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले भने उक्त नियुक्ति खारेज हुने निर्णय गरेका हुन्। यसरी प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीको राय अल्पमतमा परेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ५२ संवैधानिक पदाधिकारीहरु नियुक्त भएका थिए । ओली नेतृत्वको संवैधानिक परिषदले मंसिर, २०७७ मा ३८ जना र वैशाख, २०७८ मा २० जना गरी ५२ जना पदाधिकारीहरुको सिफारिस गरेको थियो।

३८ जनाको नियुक्ति हुँदा ६ जनाले नियुक्ति लिएका थिएनन्। दोस्रो पटक २० जनाको नियुक्ति भयो । दुवैसमयमा नियुक्त भएका कुल ५२ संवैधानिक पदाधिकारीहरुमध्ये हाल ४९ जनामात्रै पदमा बहाल छन् । तीन जना पदाधिकारीहरु ६५ वर्षे उमेर हदले अवकाश पाइसकेका छन्। अवकाश पाउनेहरुमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेना, राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरे र राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशी छन्।

मध्येरातमा सर्वोच्चले उक्त नियुक्तिमा निर्णय सुनाएको हो।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्