२०८३ जेठ २१ , बिहीबार

वीरेन्द्रनगरको सत्रौं नगर सभाः चार अर्ब ३८ करोड बराबरको बजेट प्रस्तुत



१० असार, सुर्खेत। वीरेनद्रनगर नगरपालिकाको सत्रौं नगर सभा आजबाट शुरु भएको छ। कर्णाली प्रदेशको राजधानी  वीरेन्द्रनगरले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेको छ। नगरसभामा आगामी वर्षका लागि नगर उपप्रमुख निलकण्ठ खनालले चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट सार्वजनिक गरेका हुन्।

बजेटमा नगरपालिकामा नगरबस संचालन गर्ने गरी  २ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा पूँजीगत खर्च २ अर्ब ७८ करोड ८४ लाख र चालू खर्च १ अर्ब ५९ करोड ४२ लाख रहेको छ। नगरपालिकाले कर सुधार र आन्तरिक स्रोत विस्तार गरी कुल ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी संकलन गर्ने लक्ष्य लिएको उप प्रमुख खनालले बताए।

बजेटमा भेरी पम्पिङ्ग आयोजनाका सम्पन्न गर्नको लागि ११ करोड ६० लाख म्याचिङ फण्ड व्यवस्थाको समेत व्यवस्था गरिएको छ। यसले खानेपानी आयोजनामा नगरपालिकाले प्राथमिकता दिएको देखिन्छ। यसैगरी शहरी सौन्दर्य तथा पूर्वाधार विकासका लागि २२ करोड ३४ लाख विनियोजना गरिएको छ।

विकास साझेदार तथा गैर सरकारी संघ संस्थाले पेश भएको ४० करोड बराबरको आयोजना तथा कार्यक्रम समेत नगर सभामा पेश गरिएको छ। यसलाइ सभाले अनुमोदन गर्नुपर्ने छ।

नगरसभाले नगर गौरव आयोजना अन्तर्गत प्रत्येक वडामा कम्तिमा ५० लाख, शिक्षा क्षेत्रमा ५ करोड ५९ लाख, स्वास्थ्यमा १ करोड ५९ लाख, महिला बालबालिका अस्पतालका लागि ३७ लाख ५० हजार, कृषि तथा पशुपालन आत्मनिर्भरतातर्फ १ करोड ३० लाख, फोहरमैला व्यवस्थापन र हरियाली प्रवर्धनमा ४ करोड ५० लाखको तथा युवा सशक्तिकरण कार्यक्रमका लागि ६० लाख, खेलकुद क्षेत्रका लागि ६१ लाख २५ हजार विनियोजन गरेको उपमेयर खनालले जानकारी दिए।

वीरेन्द्रनगर नगरपालिकाको बजेट कर्णाली प्रदेशका अन्य स्थानिय तहको भन्दा धेरै रहेको छ। नगरपालीकाले संघीय सरकारबाट सशर्त अनुदान २ अर्ब २० करोड ८ लाख प्राप्त गरेको छ। यसैगरी वित्तीय समानीकरण अनुदान २४ करोड २४ लाख, प्रदेश सरकारको अनुदान ४० करोड ९५ लाख (सशर्त र समानीकरण सहित), सामाजिक सुरक्षा अनुदान ४० करोड र गत वर्षको मौज्दात ४१ करोड २७ लाख रहेको छ।

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार
प्रतिक्रिया दिनुहोस्