
वैशाख २३, काठमाडौं। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको पाँच सदस्यीय भ्रमण दल स्वदेश फिर्ता भएको छ। बेलायत सरकारको निमन्त्रणामा बेलायतको सर्वोच्च अदालतलगायत अन्य अदालतहरुको औपचारिक भ्रमण एवम् द्विपक्षीय सम्बन्ध विस्तारको सिलसिलामा यही मिति २०८२।१।१४ गतेदेखि २२ गतेसम्म ८ दिन बेलायतको सर्वोच्च अदालत लगायत विभिन्न अदालतहरुको भ्रमण कार्यक्रममा सहभागी भइ स्वदेश फिर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए।
भ्रमणका क्रममा नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र बेलायतका सर्वोच्च अदालतका अध्यक्ष द लर्ड रिड अफ अलरमुर विच वैशाख १६ (२९ अप्रिल २०२५) मा नेपालको सर्वोच्च अदालत र बेलायतको सर्वोच्च अदालत बीचको लामो समयदेखिको सम्बन्धलाई सुदृढ गर्नका लागि ‘लेटर अफ गुडविल’ मा हस्ताक्षर गरेका थिए। ‘लेटर अफ गुडविल’ द्वारा दुवै पक्षले दुई न्यायापालिकाहरु बीच उत्कृष्ट अभ्यास एवम् पारस्परिक सहयोग आदानप्रदान गर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।
भ्रमण दलमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका माननीय सदस्य रितेन्द्र थापा, उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावल र सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलको सहभागिता रहेको थियो ।








