
माघ ४, काठमाडौं। गाजा क्षेत्रमा १५ महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएको छ । हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेसँगै युद्ध चर्किएको थियो । युद्धका क्रममा ४८ हजारभन्दा बढीको ज्यान गएको छ ।
अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्तामा बिहीबार बिहान सहमति जुटेको हो । मध्यस्थता गरेका कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीका अनुसार युद्धविराम आइतबारदेखि लागू हुनेछ । इजरायली मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र युद्धविराम लागू हुने बीबीसीले जनाएको छ ।
युद्धविराम तीन चरणमा गर्ने सहमती भएको बताइएको छ। पहिलो चरण ६ साताको हुने । यस अवधिमा हमासले बन्धक बनाएका इजरायली सैनिक, महिला, बाल– बालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जना रिहा गरिने । इजरायलले प्यालेस्टिनी बस्तीबाट सेना फिर्ता सुरु गर्ने । प्यालेस्टिनीलाई उत्तरी गाजास्थित घर फर्कन अनुमति दिइने र ती स्थानमा मानवीय सहायताका लागि हरेक दिन करिब ६ सय ट्रकलाई प्रवेश अनुमति दिइने । यसैगरी दोस्रो चरणका विषयमा पहिलो चरणको १६ औं दिनदेखि थप छलफल हुने । इजरायली सेना गाजाबाट पूर्णरूपमा फिर्ता हुने र त्यसको सट्टा हमासले सैनिक लगायतका थप बन्दी रिहा गर्ने र तेस्रो चरणमा अन्तर्राष्ट्रिय पर्यवेक्षणमार्फत गाजामा गरिने ३ देखि ५ वर्षे पुनर्निर्माण योजनाको बदलामा हमासले बााकी बन्धक वा शव फिर्ता गर्ने सहमतीले उल्लेख भएको बीबीसीले जनाएको छ।
युद्धका क्रममा इजरायलतर्फ करिब १४ सयको ज्यान गएको छ भने प्यालेस्टिनीतर्फ १८ हजार बालबालिकासहित ४६ हजार ७८८ जनाको मृत्यु भएको छ । तीमध्ये ८१ जनाको बिहीबार फेरि इजरायलले गरेको आक्रमणमा ज्यान गएको बीबीसीले जनाएको छ । युद्धविराम सम्झौतापछि पनि इजरायलले आक्रमण गरेको हो ।
एजेन्सीको सहयोगमा






