
फोटोः PMO Nepal
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री साह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै प्रस्थान गरेका हुन्।
साहलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ।
साहलाइ न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री साह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन्।
भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्ने कार्यक्रम रहेको बताइएको छ।
प्रधानमन्त्री साह असोज ८ गते (२४ सेप्टेम्बर) र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ। सो लगत्तै प्रधानमन्त्री साहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।
उनी असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुने तालिका रहेको छ। साहको प्रधानमन्त्रीको हैसियतमा यो पहिलो विदेश भ्रमण हो।
प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार









