२०८२ माघ १७ , शनिबार

स्थानीय तह उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो



१६ म‌ंसिर, काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको आयोगका प्रवक्ता निता पोखरेल अर्यालले विज्ञप्ती मार्फत जानकारी दिएकी छन् ।

उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो । ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमश: नेपाली काँग्रेसका उम्मेदवार श्री टेकराज भट्टराई र श्री टीका कुमारी चौधरी (भुल) को मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो भने रूकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र) का उम्मेदवार श्री जगत घर्तीको मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो ।

एक-एक जना उम्मेदवारी कायम भएका बाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेको आयोगले जनाएको छ ।

यसैविच निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, पर्यवेक्षक, सञ्चारमाध्यम, निजी क्षेत्र, नागरिक समाजलगायत सबैप्रति निर्वाचन आयोग हार्दिक ज्ञापन गरेको छ । साथै मतगणनाको कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने गराउने कार्यमा समेत राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षक लगायत सबै सरोकारवालाको सहयोगको अपेक्षा आयोगले गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित मिति : २०८१ मंसिर १६ गते आइतबार
प्रतिक्रिया दिनुहोस्