१२ भदौ। सरकारले रसुवाका अति प्रभावित क्षेत्रमा प्रभावकारी रुपमा काम गर्न नसकेको जन गुनासो आएको छ। स्थानिय सरकार संग समन्वय गरी अगाडी बढ्नुपर्नेमा सरकारले बाढी प्रभावित स्थानिय सरकार संग समेत समन्वय नगरेको पाइएको छ।
उत्तरगया गाउँपालिका रसुवाका अध्यक्ष माधव प्रसाद अर्यालले ‘संघीय सरकार आकाशमा देखिन्छ सामाजिक सञ्जालमा देखिन्छ’ भनी सामाजिक संजालमा दुःख पोखेका छन्। समयमा हेलिकप्टर उद्धारको लागी नजाने र घाइतेहरुलाइ १० घण्टापछि धुञ्चे अस्पतालमा लानुपर्ने अवस्था भोगेको उनको गुनासो छ।
अध्यक्ष अर्यालले आफ्नो फेसबुकमा लेखेका छन् ‘मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा अकल्पनीय मानवीय क्षति पुगेको छ। घरवार विहीन परिवारका सदस्यहरूको संख्या उल्लेख्य छ। मरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालय देखि सबै निकायहरूमा समन्वय गरेर हेलिकप्टरको प्रतिक्षा गर्दा पनि कुनै सुनुवाइ नभए पछि कालिकास्थान जिवजिवे अस्पताल हुदै १० घण्टापछि धुञ्चे अस्पतालमा लानुपर्ने अवस्था हामीले भोगेका छौँ। खोलाको किनारमा ५० औँ शवहरू देखिन्छ, परिवारका सदस्यहरूले पहिचान गरेका शवहरू दाहसंस्कार गर्न फिल्डमा रहेका प्रहरीसँग सयन्वय गर्दा माथिको आदेशबाहेक केही गर्न मिल्दैन भन्ने जवाफ पाइन्छ । बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मी वेपत्ता हुनुहुन्छ। बाँकी रहनुभएको कालिकास्थानको इन्स्पेक्टर सहित ५/६ जना प्रजहरू खाना पानी वेगर खटिनुरहनु भएको छ। माथिको आदेशबाहेक सामान्य सुरक्षा दिने काम बाहेक केही गर्न सक्नुहुन्न’।
सरकारले सुरक्षाकर्मीहरु आवश्यक मात्रमा परिचालन गरेको बताएपनि बाढीबाट अतिप्रभावित क्षेत्रका जनप्रतिनिधीले सामाजिक संजालबाट हारगुहार गर्नुले सरकारको तयारी र उद्दारको गतिमाथि प्रश्न उत्पन्न भएको छ।
प्रधानमन्त्री सहित मन्त्रीहरु नुवाकोटको विदुर सम्म स्थलगत रुपमा पुगेपनी रसुवाको अति विकट क्षेत्रमा सरकारको ध्यान नपुगेको स्थानियको गुनासो छ।








